खुल्यो गौर–चन्द्रनिगाहपुर सडकको चक्काजाम

पालिका संचारकर्मी
२० पुष २०८०, शुक्रबार १५:४०

रौतहट । गौर–चन्द्रनिगाहपुर सडक खण्डमा स्थानीयबासीले गरेको चक्काजाम शुक्रबारदेखि खुलेको छ । दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमाक्षेत्रमा पर्ने वाग्मती पुल शिलान्यास भएको १३ वर्षसम्म पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीयले तीन दिनदेखि चक्का जाम गरिरहेका थिए ।

सडकमै टेण्ट राखेर बसेका उनीहरुले सवारी आवत जावत हुन दिएका थिएनन् । शुक्रबार पुल निर्माणको काम यथाशीघ्र सुरु गर्ने भन्ने सहमतिपछि सडक खुलेको हो । आन्दोलनमा उत्रिएका स्थानीयबासीले आन्दोलनका क्रममा टेण्टमै रात बिताए, त्यही खाए । चक्काजामले त्यस क्षेत्रको सबारी आवागमन अस्तब्यस्त बनेको थियो ।

प्रदेश सांसद नागेन्द्र साह आफैँ चक्काजाम गराउन बसेका थिए । हुलाकी राजमार्ग निर्देशनालय र आन्दोलनकारीबीच पुल बनाउने सहमति पछि चक्काजामको कार्यक्रम हटेको प्रदेश सांसद नागेन्द्र साहले जानकारी दिए ।

सरकारले २०६७ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिल्यान्यास गरेको पुल १३ बर्ष बित्न लाग्दासम्म पनि बनेको छैन । शुक्रबार अपरान्हबाट गौर–चन्द्रगिाहपुरको सवारी आगावमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

३५ करोड ८९ लाखमा निर्माणको जिम्मा लिएको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले २०७० जेठ ३० मै पुल निर्माण गरिसक्ने सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले पुलमा १७ वटा स्पान समेत निर्माण गरिसकेको छ । तर निर्माणकै क्रममा नदीले धार परिवर्तन गरेपछि पुलको औचित्य नभएको भन्दै हुलाकी राजमार्ग निर्देशनालयले तत्कालै काम बन्द गराएको थियो । त्यसपछि तत्कालको ठेक्का तोडेर अर्को निर्माण कम्पनी महालक्ष्मी, बिकाश, वाईपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५ सय १ रुपैयाँमा ठेक्का लिएको छ ।

उसले आगामी ०८१ कात्तिकमा काम सम्पन्न गर्ने सम्झौता गरेको छ । तर काम थालेको छैन । निर्माण कम्पनीले काममा ढिलाइ गरेको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन् ।