रौतहटमा भारतबाट पिकनिक आएका दुई जनाको सडक दुर्घटनामा मृत्यु
रौतहटमा सोमबार साँझ भएको सवारी दुर्घटनामा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ।
प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल ट्यांकरले ज १ ह ४४८५ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा अटोमा सवार भारतको सीतामढीका ३५ वर्षीय पिंकु सिंह र सोही स्थानका २२ वर्षीय अवधेश राम छन्।
ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा सोमबार राति ११ बजे मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन्। दुवै जना रौतहटको ननुथरमा अंग्रेजी नयाँ वर्षको अवसरमा सोमबार पिकनिक मनाउन आएका थिए।
दुर्घटनामा अटो चालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ वर्षीय भुपेन्द्र सहनी घाइते भएको र उनको चन्द्रपुर अस्पतालमा उपचार भरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पालिका संचारकर्मी 





