सुर्खेतमा क्रिकेट मैदानको शिलान्यास

पालिका संचारकर्मी
३ पुष २०८०, मंगलवार १४:४७

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकामा रहेको कालिञ्चोकमा क्रिकेट मैदानको शिलान्यास गरिएको छ । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भएकाले मुख्यमन्त्री राजकुमार शर्माले सम्झौता अवधिमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

क्रिकेट मैदान निर्माणका लागि अनुमानित लागत ९८ लाख रहेको थियो भने ७३ लाख १८ हजार ३३७ रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको छ। क्रिकेट मैदानको ३ लेनको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दूबो लगाउने र ल्यान्डस्केप गरी हरियाली गर्ने लगायतका काम गरिने भएको छ ।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले २०८१ वैशाखबाट कर्णालीका क्रिकेट खेलाडीहरुले आफ्नै मैदानमा क्रिकेट खेल्न र राष्ट्रिय स्तरका प्रतियोगिता गर्न पाउने बताए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले कर्णाली प्रदेशको खेलकुद विकास सोचेअनुरूपको भइरहेको बताए । निर्माणको जिम्मा के.पी.डी.डी कन्ट्रक्सन वीरेन्द्रनगर सुर्खेतले लिएको छ ।