‘एनसेल सेयर खरिद-बिक्री कानुनविपरीत पाइए हदैसम्म कारबाही हुन्छ’

पालिका संचारकर्मी
३ पुष २०८०, मंगलवार १२:३७

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरीत पाइए हदैसम्म कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीका क्रममा कानुनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको बताए । छानबिन समितिबाट देखिएका निष्कर्षका आधारमा सरकारले हदैसम्मको कारबाही गर्ने पनि स्पष्ट पारे ।

‘प्रतिवेदन प्राप्त भएपछि सरकारले नियमन, विदेशी लगानी र विदेशी मुद्रा सटही तथा करको विषयमा आवश्यक कदम चालिन्छ । एनसेल खरिदबिक्रीमा कहीँ न कहीँ केही न केही भएको शंका लागेकोले छानबिन गरिएको हो । दोषी भए हदैसम्म कारबाही हुन्छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र करछलिको कुरा समाचारमा आएपछि चासो लागेर छानबिनमा लागेको बताए । उनले छानबिन समिति कुनै पनि निकायलाई ओभरल्याप गर्नका लागि गठन नगरिएको स्पष्ट पारे । उनले दूरसंचार प्राधिकरणका अधिकारीहरूसँगकै सल्लाहमा छानबिन समिति गठन गरिएको र १ महिनाको कार्यादेश दिइएको पनि बताए । समिति गठन कर मात्रै नभई विदेशी लगानी ल्याउने र राजश्वमा पर्ने विषयमा पनि सुझाव आउने बताए ।

समितिमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्मा पनि उपस्थित छन् । उनले एनसेल खरिदबिक्रीबारे पछिल्लो समय सरकारी निकायले कुनै पनि प्रक्रिया अगाडि नबढाएको जानकारी दिएकी छन् ।