दश जना महिला स्वयंसेविकालाई ५० हजार दिएर बिदाइ

पालिका संचारकर्मी
१९ मंसिर २०८०, मंगलवार १३:४५

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा बढाउने आश्वासन दिएका छन्।

२० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई राज्यले उचित सम्मान नगरेको बताउँदै आफूले आफ्नो कार्यकालमा सेवा सुविधा बढाउने आश्वासन दिए ।

उनले राज्यले महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई महान भन्ने गरे पनि त्यसअनुसारको व्यवहार नगरेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत ओमबहादुर खड्का र स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगञ्जले महिला स्वयंसेविकालाई उचित सम्मान गरिरहेको बताए।

नेपालगञ्जमा १ सय ६६ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका थिए। त्यसमध्ये १० जना उमेर हदका कारण आजदेखि बिदाइ भएका छन्। उनीहरूलाई जनही ५० हजार रुपैयाँ दिएर बिदाइ गरिएको छ। सो अवसरमा २३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको थियो।

स्वयंसेविकालाई वार्षिक दश हजार लुगा भत्ता, १२ हजार यातायात खर्च, एक हजार दुई सय सञ्चार खर्च र दुई हजार पाँच सय रुपैयाँ चाडबाड खर्च दिने गरिएको छ।

महिला स्वयंसेविका संघ, नेपालगञ्जका कार्यवाहक अध्यक्ष ज्योति श्रेष्ठले महिला स्वयंसेविका बिदाइ हुँदा कम्तीमा एक लाख रुपैयाँ दिनुपर्ने आफ्नो मागको अझै सुनुवाइ नभएको गुनासो गरिन्।

कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेल, स्वयंसेविका तुलसा थापालगायतले बोलेका थिए।