एमालेले बोलायो विशेष बैठक, अध्यक्ष ओलीले सम्बोधन गर्ने

पालिका संचारकर्मी
१ मंसिर २०८०, शुक्रबार १०:५७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक बोलाएको छ। मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी विशेष बैठक बोलाएको हो।

बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए। उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए ।

सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन्। पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवा संघ विरोधमा उत्रिएको छ।