सीमा सुरक्षामा सहयोग गर्ने वडा अध्यक्षहरूको प्रतिबद्धता
इटहरी, कात्तिक २ गते ।
भारत र चीनसँग सीमा जोडिएका कोशी प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिहरुले सीमावर्ती क्षेत्रबाट हुने आपराधिक, अराजक तथा अवैध गतिविधि नियन्त्रणका लागि सीमा सुरक्षामा परिचालित सुरक्षा निकायलाई आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पछिल्लो समयमा सीमावर्ती क्षेत्रबाट लागुऔषधको ओसारपसार र कारोबारको गतिविधि बढिरहेको सन्दर्भमा त्यसको नियन्त्रण कार्यमा सीमा सुरक्षामा परिचालित सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रका वडाध्यक्षहरुले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
नेपालमै पहिलो पटक सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी पकलीले कोशी प्रदेश अन्तर्गतका सीमावर्ती स्थानीय तहका वडा अध्यक्षहरुसँग गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीबलले मानव बेचबिखन र लागुऔषधको ओसारपसारको नियन्त्रणमा गरेको कार्यमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल र चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाका ५० जना वडा अध्यक्षहरुको सहभागिता थियो ।
सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनीकुमार पोखरेलले समय समयमा उत्पन्न हुने सीमा विवाद, सीमावर्ती अपराध र गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान गरी निरन्तर समन्वय, पारस्पारिक सहयोग र सूचना आदनप्रदान हुनुपर्ने जनप्रतिनिधिहरुले सुझाव दिनुभएको बताउनु भयो ।
उहाँले सीमाको सुरक्षाको जिम्मेबारी सशस्त्र प्रहरी बलको र रहेको र सीमावर्ती क्षेत्रका स्थानीय तह अन्तर्गतका वडाअध्यक्षहरु त्यस क्षेत्रको समस्याको बारेमा बढी जानकार हुने भएकाले उहाँहरुबाट प्राप्त सुझाव सल्लाह कार्यान्वयन गरिने बताउनु भयो ।
सशस्त्र प्रहरी बल नेपालको ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा’ अनुसार आयोजित कार्यक्रममा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन स्थानीय तह र समुदायको भूमिकाको पहिचान, सीमावर्ती अपराध तथा गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न समुदायको भूमिकाको पहिचान, निरन्तर समन्वय, पारस्परिक सहयोग र सूचना आदानप्रदानका उपायहरुको खोजी र कार्यान्वयन विषयमा छलफल भएको थियो ।
कार्यक्रममा बदलिँदो सुरक्षा परिवेशमा सीमा सुरक्षा तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका र सम्भाव्यता सम्बन्धमा प्रस्तुतीकरण समेत गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा पाँचथरको फालेलुङ्गदेखि सुनसरीको बर्जुसम्मका विभिन्न वडाबाट प्रतिनिधित्व गर्नुभएका वडा अध्यक्षले पछिल्लो समय सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरी बलको भूमिका प्रभावकारी रहेको उल्लेख गर्दै सीमामा देखिएका समस्या, चुनौति र समाधानका सन्दर्भमा चर्चा गर्नु भएको बताइएको छ ।
विशेष गरी लागूऔषध ओसारपसार तथा सेवन, भन्सार छली गरी सामानहरुको अवैध ओसारपसार तथा चोरी तस्करीलगायत गतिविधिहरु नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायको भूमिका सम्बन्धमा छलफल भएको थियो ।
यसैगरी, सीमापार अपराध र अवैध गतिविधि नियन्त्रणका लागी आगामी दिनहरुमा सूचना आदानप्रदान तथा समन्वयको कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा वडाध्यक्षहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । वडाअध्यक्षहरुबाट सीमा सुरक्षा तथा व्यवस्थापनसम्बन्धी उठान भएका विषयहरुमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
कोशी प्रदेशको सीमावर्ती क्षेत्र अन्तर्गत विदेशी भूमिसँग जोडिएका असीवटा बडा रहेका छन । जसमध्ये भारतसँग सीमा जोडिएका सत्तरी, चीनसँग सीमा जोडिएका नौ र दुबै देशसँग जोडिएको एकवटा वडा रहेको छ ।
कोशी प्रदेशअन्तर्गत भारतसँग सीमा जोडिएको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरी जिल्लाको ४२८ किलोमिटर र संखुवासभा र ताप्लेजुङ जिल्लामा चीनसँग जोडिएको २६२ किलोमिटर क्षेत्रको सीमाको सुरक्षामा सशस्त्र प्रहरी बल परिचालित छ । यसका लागि भारततर्फ जोडिएको सीमाको सुरक्षाका लागि दशवटा प्रस्तावित सीमा सुरक्षा गुल्म र ४५ वटा बोर्डर आउट पोष्ट (बिओपी) र चीनतर्फ जोडिएको सीमाका लागि दुईवटा बिओपी रहेको छ ।

पालिका संचारकर्मी 





