मकवानपुरका ३५ उम्मेदवारको धरौटी जफत

पालिका संचारकर्मी
२६ फाल्गुन २०८२, मंगलवार १२:३७

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुरका दुई निर्वाचन क्षेत्रका ३५ उम्मेदवारले धरौटी जोगाउन नसकेका छन्। सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि उनीहरूको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन नियमअनुसार आवश्यक मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार मकवानपुरका धेरै उम्मेदवारले न्यून मत प्राप्त गर्दा धरौटी जफत भएको हो।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कुल ९० हजार ७२५ मत सदर भएको थियो। धरौटी जोगाउन कम्तीमा ९ हजार ७३ मत आवश्यक पर्ने भए पनि १८ जना उम्मेदवारले त्यो मत ल्याउन सकेनन्। तीमध्ये ८ जना राजनीतिक दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा पूर्वसांसद दीपकबहादुर सिंहले ४ हजार ५७४ मत प्राप्त गरे पनि धरौटी जोगाउन सकेनन्। श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेकी छन् भने अन्य केही उम्मेदवारले सयभन्दा कम मत मात्र पाएका छन्।

यस्तै, मकवानपुर क्षेत्र नम्बर २ मा ८५ हजार ६१९ मत सदर भएको थियो। यस आधारमा धरौटी जोगाउन ८ हजार ५६२ मत आवश्यक पर्ने भए पनि १७ जना उम्मेदवारले आवश्यक मत ल्याउन सकेनन्। यस क्षेत्रमा १२ जना दलका र ५ जना स्वतन्त्र उम्मेदवारको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन परिणामअनुसार मकवानपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। मकवानपुर–१ बाट प्रकाश गौतम ३६ हजार ३३ मतसहित निर्वाचित भएका छन् भने मकवानपुर–२ बाट प्रशान्त उप्रेती ३० हजार ५० मतसहित विजयी भएका छन्।

यस निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ मा २३ जना र क्षेत्र नम्बर २ मा २१ जना गरी कुल ४४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।