प्रतिनिधिसभा निर्वाचन : मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको जित

पालिका संचारकर्मी
२४ फाल्गुन २०८२, आईतवार ०१:००

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार प्रकाश गौतम भारी मतान्तरसहित विजयी भएका छन्।

३७ वर्षीय हेटौंडा उपमहानगरपालिका–५ निवासी गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई फराकिलो मतान्तरले पराजित गरे। डिनाले १४ हजार ३८ मत प्राप्त गरिन्।

निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामेश्वर राना तेस्रो स्थानमा रहे। उनले १२ हजार ७८३ मत प्राप्त गरे। यसैगरी, अघिल्लो निर्वाचनका विजेता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपकबहादुर सिंह यसपटक छैठौं स्थानमा सीमित भए। सिंहले ४ हजार ५७४ मत मात्र प्राप्त गरे।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का विजय गौतमले १० हजार ७८८, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ तथा श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार मकवानपुर–१ मा कुल ९५ हजार ३ सय १० मत खसेको थियो।

यो परिणामसँगै नेकपा एमालेका राना संघीय संसद प्रवेश गर्ने दोस्रो प्रयासमा पनि असफल भएका छन्। उनले २०६४ सालको संविधानसभा निर्वाचनमा पनि पराजय व्यहोरेका थिए।

नेपाली कांग्रेसकी डिनाले पनि लगातार पाँचौं पटक प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेकी छन्। उनले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्दा डिनाले २५ हजार ४ सय ३४ मत ल्याएकी थिइन्।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले भने यस पटक पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

यस निर्वाचन परिणामले मकवानपुर–१ मा नयाँ राजनीतिक समीकरण र मतदाताको बदलिँदो झुकाव स्पष्ट भएको विश्लेषण गरिएको छ।