रास्वपामा झट्का: मकवानपुर सभापति भरत पराजुलीसहित नेताहरू कांग्रेस प्रवेश
मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
पराजुलीसँगै मकवानपुर–२ का संघीय सभापति तथा निर्वाचन परिचालन संयोजक निराजन बर्तौला, युवा नेता राममणी न्यौपाने लगायतका नेताहरू सर्लाही पुगेर नेपाली कांग्रेस मा प्रवेश गरेका हुन्।
उल्लेखनीय छ, आजै रास्वपाका सभापति रवि लामिछाने चुनावी अभियानका क्रममा हेटौंडा आउने कार्यक्रम तय भएको छ। सोही दिन जिल्लाका शीर्ष नेताहरूले पार्टी परित्याग गर्दै कांग्रेस रोज्नुले स्थानीय राजनीतिमा तरंग सिर्जना गरेको छ।
यी सबै नेताहरू यसअघि कांग्रेसबाटै रास्वपामा गएका थिए। जिल्ला सभापति पराजुली फागुन २१ मा हुने निर्वाचनमा टिकट नपाएपछि असन्तुष्ट रहेको चर्चा थियो। २०७९ सालको निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार बनेका पराजुली पराजित भएका थिए।
निर्वाचन नजिकिँदै जाँदा भएको यो दल फेरबदललाई मकवानपुरको शक्ति सन्तुलनमा अर्थपूर्ण रूपमा हेरिएको छ।

पालिका संचारकर्मी 






