वीरगन्ज–चितवन रुटको बस मकवानपुरमा दुर्घटना

पालिका संचारकर्मी
१० फाल्गुन २०८२, आईतवार १०:१०

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनास्थित सडक खण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र०६–००१ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनारामा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनाका बेला बसमा सवार यात्रुमध्ये २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।