हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते
मकवानपुर/ मकवानपुरको हेटौँडामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुर का अनुसार पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। हिजो करिब दिउँसो ३ः२० बजे मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही बस्ने अन्दाजी २८ वर्षीय जगदिश थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलको पछाडि सवार दाङ, राप्ती गाउँपालिका–६ बस्ने अन्दाजी २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको दाहिने हात र आँखा मुनि चोट लागेको छ र हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि टिपर हेटौँडा बजारतर्फ फरार भएको थियो। फरार टिपर र चालक हेटौँडा–१५ भोर्ले बस्ने अन्दाजी २६ वर्षीय रोहित तामाङलाई प्रहरी चौकी बसामाडीले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 














