हेटौँडा–४ मा कांग्रेसको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

पालिका संचारकर्मी
५ फाल्गुन २०८२, मंगलवार १०:३६

हेटौँडा – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले हेटौँडा–४ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेको छ। मंगलबार आयोजित कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कार्यालय उद्घाटन गरेकी हुन्।

हेटौँडा–४ स्थित हुप्रचौरको दक्षिणतर्फ रहेको एक घरमा वडा नम्बर ४ को सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा बोल्दै उम्मेदवार डिनाले विशेष महाधिवेशनपछि कांग्रेसमा परिवर्तन आएको उल्लेख गर्दै बदलिएको कांग्रेस देश परिवर्तनको योजनासहित निर्वाचनमा होमिएको बताइन्। अहिले गठबन्धन नरहेको र कांग्रेसले आफ्नै चुनाव चिन्हमा मत माग्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो।

पराजित भएपनि आफू मकवानपुरको विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहेको दाबी गर्दै उनले जनताबाट अनुमोदित भएर जनताकै काम गर्न पुनः उम्मेदवार बनेको बताइन्।

वडा सभापति हरि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, बागमती प्रदेश सदस्य प्रदीप कोइराला तथा हेटौँडा उपमहानगर सभापति उत्सव इटेनी लगायतका नेताहरूको उपस्थिति रहेको थियो। कांग्रेसले निर्वाचन अभियानलाई तीव्र बनाएको जनाएको छ।