‘अन्तिम पटक प्रतिस्पर्धामा’ : महालक्ष्मी उपाध्यायको अपिल—यो पटक जनताबाट अनुमोदित हुने विश्वास

पालिका संचारकर्मी
२९ माघ २०८२, बुधबार ०६:५५

हेटौंडामा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले आफू चुनाव हारेको अवस्थामा पनि जिल्लाको विकासमा सक्रिय रहँदै आएको बताएकी छन्। कांग्रेस हेटौंडा–८ नम्बर वडा समितिले सोमबार आयोजना गरेको कृयाशील सदस्यहरूसँगको छलफल कार्यक्रममा उनले यस पटक जिताएर सेवा गर्ने अवसर दिन मतदातासँग आग्रह गरिन्।

उनले सांसद बन्न विभिन्न विकल्पहरू भए पनि जनताबाट प्रत्यक्ष अनुमोदित भएर आउन चाहेको स्पष्ट पारिन्। “राष्ट्रियसभा सदस्य बन्ने प्रस्ताव समेत आएको थियो,” उनले भनिन्, “तर म जनतामाझबाटै अनुमोदित हुने दृढ संकल्पका साथ अन्तिम पटक चुनावी मैदानमा उत्रिएकी हुँ।”

उपाध्यायले बद्लिएको कांग्रेसले मुलुक रूपान्तरणको अभियान थालेको दाबी गर्दै देशभरका निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बताइन्। पार्टी सभापति, पदाधिकारी, जिल्ला नेताहरू तथा आम मतदाताको आग्रहमा आफू पुनः प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै यस पटक मकवानपुरसहित देशभर कांग्रेसको विजय हुने विश्वास व्यक्त गरिन्।

“पदमा नभए पनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर लागिरहेँ,” उनले भनिन्, “अब पाँच वर्ष जनतासँगै रहेर काम गर्ने अवसर चाहन्छु।”

कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेले पार्टी रूपान्तरणको दिशामा अघि बढेको दाबी गर्दै मुलुक परिवर्तनको आधार कांग्रेस नै भएको बताए। उनले मकवानपुरका दुवै क्षेत्रमा कांग्रेसलाई जिताउन सके युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउन सहज हुने धारणा राखे।

कांग्रेस हेटौंडा–८ नम्बर वडा निर्वाचन परिचालन समिति संयोजक हरिप्रसाद वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रतिनिधि रामकृष्ण कोइराला, कार्यवाहक वडा सभापति शम्भुप्रसाद दुलाल लगायतले कांग्रेसको पक्षमा जनलहर बढेको उल्लेख गर्दै मतान्तर फराकिलो बनाउने गरी घरदैलो अभियान सशक्त बनाउन आग्रह गरे।

कार्यक्रममा समानुपातिकतर्फकी उम्मेदवार सर्मिला श्रेष्ठ, पवित्रा विश्वकर्मा तथा कांग्रेस मकवानपुरका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।