थानाभर्याङमा २ किलो अफिमसहित मोटरसाइकलमा सवार दुई युवक पक्राउ
मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ क्षेत्रमा चेकजाँचका क्रममा प्रतिबन्धित लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८२ साल १० महिनाको २३ गते दिउँसो करिब १ः३० बजे प्राप्त विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ना.४५ प.६४१८ नम्बरको पल्सर मोटरसाइकललाई रोकी खानतलासी गरेको थियो। खानतलासीका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूको साथबाट अफिम जस्तो देखिने करिब २ किलो लागूऔषध फेला परेको हो।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका वडा नम्बर ४ निवासी २८ वर्षीय रबिन्द्र सिन्तान र सोही स्थानका ३६ वर्षीय रामबहादुर डिम्डुङ रहेका छन्।
बरामद लागूऔषध तथा प्रयोगमा ल्याइएको मोटरसाइकल जफत गरी दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

पालिका संचारकर्मी 






