प्रतिनिधिसभा निर्वाचन: मकवानपुरमा ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने
हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी (म्यादी) खटाइने तयारी गरिएको छ।
यद्यपि, जिल्लामा कति जना जनपथ प्रहरी परिचालन गरिन्छ भन्ने विषयमा हालसम्म एकिन नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । खत्रीका अनुसार हाल जनपथ प्रहरी आउने–जाने क्रम जारी रहेकाले संख्या अन्तिम टुंगोमा पुग्न बाँकी छ।
“काजमा मकवानपुरमा रहेका केही प्रहरी अन्यत्र रमना लिएर जाने प्रक्रिया र प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी बल आउन बाँकी रहेकाले अबको केही दिनपछि मात्रै जनपथ प्रहरीको यकिन संख्या सार्वजनिक गर्न सकिने अवस्था छ,” प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।
प्रशासनका अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षाको तयारीलाई चरणबद्ध रूपमा मजबुत बनाइँदै लगिएको छ।
मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिँदै
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको ३७४ मतदान केन्द्रमा स्वयं सेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा खटिने भएका हुन् ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले एउटा मतदान केन्द्रमा आयोगबाट छ जना कर्मचारी र मतदान केन्द्र रहेको स्थलमा तीन जना स्वयं सेवक नियुक्त गरिने जानकारी दिनुभयो ।
निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले निर्वाचन कार्यालयबाट दुई २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक एक हजार १२२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने बताउनुभयो ।
उहाँका अनुसार यसबाहेक निर्वाचनमा निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरी परिचालन हुने छन् ।
४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडा अस्थायी मतदान केन्द्र रहने भएको छ । कति वटा मतदान केन्द्र रहने भन्ने निर्णय प्रक्रियामा रहेको प्रदेश निर्वाचन अधिकारी ढकालले बताउनुभयो ।
मकवानपुरमा कुल मतदाता तीन लाख १५ हजार ३३४ कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् ।
उहाँले निर्वाचनका लागि मसी, मतपेटिका लगायतका ५२ प्रकारका सामग्री पर्ने भन्दै केही सामाग्री कार्यालयमा रहेको र कतिपय सामान आयोगबाट व्यवस्थापन आउने क्रममा रहेको बताउनुभयो ।

पालिका संचारकर्मी 






