मकवानपुरमा माघ २५ देखि एचपीभी खोप अभियान, ४ हजारभन्दा बढी किशोरी लाभान्वित हुने
मकवानपुर । पाठेघरको मुखको क्यान्सर रोकथामलाई लक्ष्य गर्दै मकवानपुर जिल्लामा यही माघ २५ गतेदेखि एचपीभी खोप अभियान सुरु हुने भएको छ । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुने यस अभियानमार्फत जिल्लाभरका किशोरीलाई निःशुल्क खोप लगाइनेछ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कक्षा ६ मा अध्ययनरत १० वर्ष उमेर समूहका ४ हजार ४ सय ३ जना किशोरीलाई विद्यालय केन्द्रित रूपमा खोप लगाइनेछ । अभियान माघ २५ देखि फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।
सोमबार हेटौँडामा आयोजित नियमित खोप तथा विद्यालय केन्द्रित एचपीभी खोपसम्बन्धी सञ्चारकर्मी र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले खोप अभियानको तयारी पूरा भएको जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययन नगरेका वा अभियानका क्रममा छुटेका किशोरीलाई भने फागुन २२ गतेसम्म स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवाबाट खोप उपलब्ध गराइने जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन बासुदेव रिमालले बताए । उनका अनुसार खोप कार्यक्रम दुई चरणमा सञ्चालन गरिनेछ ।
स्वास्थ्यकर्मीहरूले एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै लक्षित उमेर समूहका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेका छन् ।
प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन हुँदै आएको यो खोप अभियान यस वर्ष भने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही अगाडि सारिएको हो । खोप नियमित कार्यक्रमअन्तर्गत निरन्तर उपलब्ध हुने निमित्त प्रमुख घिमिरेले जानकारी दिए ।

पालिका संचारकर्मी 






