एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ आर्मी र एपीएफको लगातार दोस्रो जित

पालिका संचारकर्मी
१३ पुष २०८२, आईतवार १३:५७

१३ पुस, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप २०८२ मा महिलातर्फ लगातार दोस्रो जित हात पारेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आईतबार भएको समूह ए को पहिलो खेलमा खेलमा आर्मीले कर्णालीको चुली युवा क्लबलाई २५–१६, २५–१२, २५–९ ले पराजित गरेको हो ।

आर्मीले यसअघि एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो । चुलीको यो लगातार दोस्रो हो । चुली पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।

यस्तै महिलातर्फ आजै भएको दोस्रो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गर्‍यो । एपीएफले सुदूरपश्चिमलाई २५-६, २५-११ र २५-१२ को सेटमा हराएको हो ।

एपीएफले यसअघि शनिबार मधेश प्रदेश खेलकुद परिषद्‍माथि एकपक्षीय जित हासिल गरेको थियो ।