हेटौंडा बजारमा बढ्यो दसैँको चहलपहल

हेटौंडा । चाडपर्व नजिकिएसँगै हेटौंडा बजारमा उपभोक्ताको चहलपहल ह्वात्तै बढेको छ । दसैँका लागि आवश्यक पर्ने उपभोग्य खाद्यवस्तुदेखि लत्ताकपडा खरिद गर्न बजारमा उपभोक्ताको बिस्तारै भिडभाड हुन थालेको हो । जेनजी आन्दोलनपछी विस्तारै लयमा फर्किएको बजार क्षेत्रमा चहलपहल पनि सुरु भएको हो । मकवानपुरका गाउँ गाउँबाट आफ्ना घरमा भएका खसी, बोका, कुखुरा, गेडागुडी बिक्री गर्ने अनी बजारबाट आवस्यक खाद्ययान्न, लत्ताकपडा लिएर जाने गरेका छन् । बजारमा पहिलेको तुलनामा केही चहलपहल बढेको हेटौंडा बजारका कपडा व्यापारी स्यामु साहले बताए ।
उपभोक्ताको भिड बढ्दा बजारमा अनियमितता हुन नदिने अनुगमन भने सुस्ताएको छ । जेनजी आन्दोलनका कारण सरकारी संरचनाले अझै पनि राम्ररी काम गर्न सकेको छैन । जेनजी आन्दोलन र त्यसपछिको बजारको अवस्थालाई ध्यानमा राखेर आपूर्ति प्रणालीसँगै उपभोग्य वस्तुको उपलब्धतालाई नजिकबाट नियालिरहेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । जेनजी प्रदर्शनपछि सशङ्कित र त्रसित बनेका व्यापारीमा बजार अनुगमनले नकारात्मक असर नपर्ने गरी बजार नियाल्ने काम गरिरहेको छ । निजी क्षेत्रबाहेक साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सरकारले ती कम्पनीले सहुलियत दिएबापत शोधभर्ना गर्ने गरी दैनिक उपभोग्य वस्तु बिक्रीको प्रवर्धन गरेको छ । अहिले दशैको समयमा केही उपभोक्ताले आवश्यकभन्दा बढी वस्तु खरिद गरेर मौज्दात राख्ने क्रम बढेकाले यस विषयमा सचेतनाको आवश्यकता रहेको अनुगमन गर्ने सरकारी कार्यालयका कर्मचारीहरु बताउँछन् ।