बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेले पनि लगायो ह्वीप

पालिका संचारकर्मी
२६ श्रावण २०८२, आईतवार ११:०२

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने विषयमा सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप जारी गरेको छ। नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आगामी साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई बानियाँको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको हो। यसअघि, एमालेले साउन २७ गते दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने कार्यक्रम तय गरेको छ। गत साउन २० गते मुख्यमन्त्री नियुक्त बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) अनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्। मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले भने यसअघि नै ह्वीप जारी गरिसकेको छ। ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मतदान गर्ने गरी तीन बुँदामा ह्वीप जारी गरेको संसदीय दलका प्रवक्ता तथा प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन्।