इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री नियुक्त हुँदै, आजै सपथ ग्रहण
हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्। सोमबार नै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि औपचारिक दाबी पेश गरेका बानियाँ आज दिउँसो पद तथा गोपनीयताको शपथ लिने तय भएको छ।
कांग्रेसका प्रदेश सभापति समेत रहेका बानियाँले पार्टीका ३७ जना सांसद र सत्ता गठबन्धनको प्रमुख साझेदार नेकपा एमालेका २७ सांसदसहित ६४ जनाको समर्थन जुटाएर मुख्यमन्त्रीको दाबी गरेका हुन्। ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ। यसअघि मुख्यमन्त्री रहेका बहादुरसिंह लामाको राजीनामा स्वीकृत भएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए। निर्धारित समयावधि अनुसार मंगलबार दिउँसो २ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको थियो। सो समयसीमापछि बानियाँलाई औपचारिकरूपमा मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयले बानियाँको शपथ ग्रहण कार्यक्रम मंगलबार दिउँसो ४ बजेका लागि तय गरेको छ। स्रोतका अनुसार बानियाँले शपथलगत्तै मन्त्रिपरिषद् विस्तारको तयारीसमेत गरिसकेका छन्। प्रारम्भिक चरणमा कांग्रेस र एमालेको भागबन्डामा केही मन्त्रीहरू नियुक्त हुने सम्भावना छ।

पालिका संचारकर्मी 






