लागूऔषध खैरो हिरोईनको कारोबारमा संलग्न २ किशोरीसहित ७ जना पक्राउ

पालिका संचारकर्मी
६ श्रावण २०८२, सोमबार १२:४३

हेटौंडा।मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईन कारोबारमा संलग्न दुई किशोरीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले विशेष सूचनाका आधारमा यहि साउन २ र ३ गते हेटौंडा उपमहानगरका विभिन्न स्थानमा खोजतलास तथा चेकजाँचका क्रमम ६ ग्राम ४०० मिलिग्राम खैरोहेरोईनसहित उनिहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले हेटौंडा–१ बस्ने वर्ष २० का सतिस लामा,वडा नम्वर–५ सानोपोखरा बस्ने वर्ष २० कै सन्जिव लामा,भीमफेदी गाउँपालिका–२ कालिकाटार बस्ने वर्ष १९ की सन्ध्या पाख्रिन र मकवानपुरगढी गाउँपालिका-२ बाँसपानी बस्ने वर्ष १९ कै सन्ध्या घलानको साथबाट २ ग्राम २१० मिलिग्राम हिरोईन फेला पारेको जनाएको छ।

यस्तै,हेटौंडा–१५ रातोमाटे चेकिङ पोईन्टबाट ना ३७ प ६४४९ नम्वरको मोटर्साईकल चालक पर्साको पोखरीया नगरपालिका–२ वनकटवा बस्ने वर्ष २७ का अकलेश महत्तो कुशवाहलाई २ ग्राम ९१० मिलिग्राम खैरो हिरोईनसहित नियन्त्रणमा लिईएको छ। त्यसैगरी,सप्तरीको शम्भुनाथ नगरपालिका–६ घर भई हाल हेटौंडा –९ लामसुरे बस्ने वर्ष ३६ का शैलेन्द्र चौधरी र सप्तरीकै राजगढ गाउँपालिका-२ बनैनिया घर भई हेटौंडा–१० बस्ने वर्ष ३६ का अजय सिंहको साथबाट १ ग्राम २८० मिलिग्राम गरी जम्मा ६ ग्राम ४०० मिलिग्राम हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय,मकवानपुरले जनाएको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।