साउनको पहिलो सोमबार, हेटौंडाको पशुपति मन्दिर लगायत विभिन्न शिवालयमा श्रद्धालुको घुइँचो
हेटौंडा । हिन्दू धर्मावलम्बीको आस्थाको महिना साउन सुरु भएसँगै सोमबारको विशेष महत्व लिएर आज साउनको पहिलो सोमबार परेको अवसरमा हेटौंडा उपमहानगरका विभिन्न शिव मन्दिरहरुमा श्रद्धालु भक्तजनको उल्लेख्य भीड देखिएको छ। साउन महिनालाई विशेषगरी शिवभक्तहरूको लागि पवित्र महिनाका रूपमा लिइन्छ। यसै क्रममा आज बिहानैदेखि भक्तजनहरू व्रत बसी जल, बेलपत्र, धतुरो, आक, दूध र गंगा जल चढाउँदै भगवान शिवको आराधना गर्न मन्दिरहरूमा लामबद्ध देखिएका छन्। हेटौंडाको पशुपति मन्दिर परिसरमा बिहान ५ बजेदेखि नै पूजा गर्नको लागि भक्तजनहरूको लाम लागेको थियो। यसबाहेक, कैलाशधाम, सिद्धिविनायक शिव मन्दिर, र मकवानपुरका बिभीन्न स्थानीय तहका शिवालयमा समेत भक्तजनको घुइँचो लागेको थियो। कतिपय श्रद्धालुहरू घर–घरबाट जल कलश बोकी मन्दिर आइपुगेका थिए । साउनको सोमबार व्रत राख्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ महिला, पुरुष, युवा, बालबालिका देखि वृद्धवृद्धासम्म शिवजीको दर्शन गर्न आएका थिए। कतिपय नवविवाहित महिलाहरूले पतिको दीर्घायु र सुसंस्कारको कामना गर्दै व्रत बसेका थिए।

पालिका संचारकर्मी 






