सवा करोड रुपैयाँ बराबरको अवैध सामानसहित कन्टेनर नियन्त्रणमा

पालिका संचारकर्मी
२६ असार २०८२, बिहीबार १०:३८

हेटौंडा। बारा प्रहरीले १ करोड २५ लाख भन्दा बढी रुपैयाँ बराबरको विभिन्न अवैध सामानहरूसहित आएको एउटा कन्टेनर ट्रकलाई नियन्त्रणमा लिई कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको छ। मंगलवार विहान साँढे १ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलिले अमलेखगंज स्थित कार्यालय अगाडी चेक प्वाईन्टमा वीरगंजबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार कन्टेनरमा बिल बिजक भन्दा फरक र भन्सार छलीका १ करोड २५ लाख २४ हजार १० रूपैयाँ बराबरको कस्मेटिक, नरिवल,बदाम,कपडा, सर्जिकल सामानहरु, ईलेक्ट्रिक सामानहरु, मोबाईलका पाटपुर्जा तथा औषधीजन्य सामानहरू फेला परेको हो। उक्त कन्टेनर ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बारा प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।