देशभरका नदीमा बाढीको जोखिमस् आज ३५ भन्दा बढी जिल्लामा आकस्मिक खतरा, सतर्क रहन आग्रह

पालिका संचारकर्मी
९ असार २०८२, सोमबार १२:०९

हेटौंडा। देशभर वर्षा सक्रिय भएसँगै आज असार ९ गते, सोमबार ३५ भन्दा बढी जिल्लामा साना नदीहरूमा बाढीको मध्यमदेखि सामान्य जोखिम देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले दिउँसो विशेष सतर्कता अपनाउन अपिल गर्दै प्रमुख नदीहरू आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। महाशाखाका अनुसार, इलाम, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, बारा, पर्सा, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, कास्की, स्याङ्जा, पर्वत, तनहुँ, दैलेख, सुर्खेत लगायतका क्षेत्रमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्नसक्ने भएकाले मध्यम स्तरको आकस्मिक बाढीको जोखिम छ। त्यस्तै, झापा, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दाङ, रुकुम पूर्वरपश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला र कैलाली जिल्लामा सामान्य स्तरको बाढीको सम्भावना रहेको उल्लेख गरिएको छ। महाशाखाले ती क्षेत्रमा बसोबास गर्ने नागरिक, नदी किनारमा आवतजावत गर्ने किसान, यात्रु, बालबालिका र गाईवस्तु चराउनेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी दोब्बर वा आकस्मिक वर्षाका कारण साना खोलाहरूमा आकस्मिक बहाव आउनसक्ने भएकाले तत्काल सूचना लिएर सावधानी अपनाउन र सतर्क रहन आग्रह गरीएको छ।