विदेशको विकल्प गाउँमै : मकवानपुरगढीमा भैँसीपालनबाट मासिक ६ लाख आम्दानी

पालिका संचारकर्मी
६ असार २०८२, शुक्रबार ११:१०

हेटौंडा। देशभर कृषिमा युवाको आकर्षण बढ्दै गर्दा मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीका युवा सुमन ढुंगेलले भैँसीपालनबाट उदारहणीय सफलता हात पारेका छन् । पाँच वर्षअघिदेखि सुरु गरिएको भैँसीपालन व्यवसायबाट अहिले उनी मासिक करिब ६ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । ढुंगेलले हाल ३० वटा भैँसी र ५ वटा गाई पालेका छन् । ती पशुहरूबाट दैनिक ३०० लिटरसम्म दूध उत्पादन हुने गरेको छ, जसलाई स्थानीय बजारमै बिक्री गरिन्छ । “दैनिक खर्च टार्नकै लागि सुरु गरेको व्यवसाय आज मेरो रोजगारी र आत्मनिर्भरताको माध्यम बनेको छ,” सुमन भन्छन् । उहाँका अनुसार दूध उत्पादनबाट प्राप्त हुने आम्दानीको करिब आधा रकम दाना, चोकर, ढुटो, औषधि र व्यवस्थापन खर्चमा जान्छ । तर बाँकी आम्दानी परिवारको जीविकोपार्जन, कर्मचारी पारिश्रमिक र भविष्यमा लगानीका रूपमा उपयोग भइरहेको छ ।

घाँस खेतीका लागि भाडाको जमिन

सुरुमा आफ्नै बारीको घाँसमा भर परे पनि अहिले उहाँले अरूको जमिन भाडामा लिएर समेत घाँस खेती गरेका छन् । फार्ममा मेसिनको सहयोगले घाँस काट्ने, पानी दिने र दाना व्यवस्थापन जस्ता कार्य सजिलै हुने व्यवस्था मिलाइएको छ । पशुपालन व्यवसायमा सुमनलाई उहाँका भाइ सुदीप ढुंगेल, आमा–बुबा र थप कर्मचारीहरूले समेत साथ दिइरहेका छन् । “कामको चाप बढेपछि केही जनशक्ति थप्नुपर्‍यो,” उहाँ बताउनुहुन्छ ।

युवाका लागि प्रेरणाको स्रोत

विदेश जानुपर्ने बाध्यता कम गर्न सकिने ठोस उदाहरण बनेका छन् सुमन ढुंगेल । “देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण देखिएको छ । मेहनत गर्न तयार युवाहरूले भैँसीपालनबाट आत्मनिर्भर बन्न सक्छन्,” उहाँले भन्नुभयो । सुमनको भनाइमा विदेशमा श्रम बेच्नुभन्दा आफ्नै माटोमा पसिना बगाउनु राम्रो हो । उहाँले सरकारी निकायबाट प्राविधिक सहयोगको अपेक्षा समेत व्यक्त गर्नुभएको छ ।