बागमतीले बगायो तेल ट्यांकर र डब्बा गाडी
हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ स्थित बगुवा खोलाले बिहीबार दुई वटा सवारी साधन बगाएको छ । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि एक तेल ट्यांकर र एक डब्बा ट्रक खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार बाराको अमलेखगन्जबाट डिजेल बोकेर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो । ट्यांकर चालक वीरगन्ज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतो भने गाडी खस्नुअघि नै हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । यस्तै वीरगन्ज भन्सारबाट सामान बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार दुवै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन । यसअघि गएराति खसेको सुख्खा पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 






