एनपीएलका सर्वाधिक विकेटकर्ता रिजन ढकाललाई हेटौंडा–१४ द्वारा ५० हजार रुपैयाँसहित सम्मान
मकवानपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेटकर्ता तथा उत्कृष्ट नेपाली खेलाडीको उपाधि जित्न सफल मकवानपुरका क्रिकेटर रिजन ढकाललाई हेटौंडा उपमहानगरपालिका–१४ ले सम्मान गरिएको छ।
हेटौंडा उपमहानगरपालिका–१४ ले ढकाललाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। वडा अध्यक्ष दीपक खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा ढकाललाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
एनपीएलमा उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै सर्वाधिक विकेट लिन सफल ढकालले उत्कृष्ट नेपाली खेलाडीको उपाधिसमेत जितेका थिए। उनको यस सफलताले मकवानपुरको खेलकुद क्षेत्रको प्रतिष्ठा बढाएको भन्दै वडाले सम्मान गरेको हो।
गृहजिल्लामै नगद पुरस्कारसहित सम्मानित भएपछि ढकालको सफलताले स्थानीय युवा क्रिकेटरहरूलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 






