भीमफेदीमा दुई थान भरुवा बन्दुकसहित ३५ वर्षीय थिङ पक्राउ
मकवानपुरको भीमफेदी गाउँपालिकाबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ। बन्दुक घरमै लुकाएर राखेको अवस्थामा भीमफेदी–१ रातोमाटेका ३५ वर्षीय पञ्चबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले मंसिर ८ गते बिहान थिङको घरमा खानतलासी गर्दा खाटमुनि बोराभित्र लुकाइएका दुई थान चालु अवस्थाका भरुवा बन्दुक फेला पारेको थियो।
कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी तथा पक्राउका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौँडा र प्रहरी चौकी भैँसेबाट खटिएको टोलीले उनको घर जाँच गर्ने क्रममा हतियार फेला पारेको प्रहरीले जनाएको छ।
हतियार बरामद भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सनम मल्लको कमान्डमा थप अनुसन्धान टोली घटनास्थल पुगेको थियो। टोलीले बरामदी मुचुल्का तयार गरी बन्दुकसहित थिङलाई बिहान ९ बजेर ५ मिनेटमा जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको हो।
पक्राउ परेका थिङमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पालिका संचारकर्मी 






