हेटौँडा बसपार्क नजिकै मोटरसाइकलबाट खसेका युवकको मृत्यु

पालिका संचारकर्मी
५ मंसिर २०८३, शुक्रबार १४:४४

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडि मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो करिब १२ः३५ बजे बसपार्कबाट थानाभर्‍याङतर्फ जाँदै गरेको ना.५४ प ८३२७ नम्बरको मोटरसाइकलमा पछाडि सवार सर्लाहीको बरथवा नगरपालिका–१५ पिपराभित्ता बेलटोलका २७ वर्षीय विदुर विश्वकर्मा अचानक खसेर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा ईसीजी परीक्षणपछि चिकित्सकले दिउँसो १२ः४० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक मृतकका काका नाताका १६ वर्षीय आकृत विश्वकर्मा रहेको प्रहरीले जनाएको छ। उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ।

मृतकको शव हेटौँडा अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।