गाउँमै स्वास्थ्य, शिक्षा र पूर्वाधार पुर्‍याएर बसाइँसराइ रोक्ने प्रदेश सरकारको लक्ष्य : मुख्यमन्त्री थापा मगर

पालिका संचारकर्मी
५ मंसिर २०८३, शुक्रबार १०:३८

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकता दिँदै गाउँमै स्वास्थ्य, शिक्षा र पूर्वाधारको पहुँच विस्तार गर्ने बताएका छन् । आधारभूत सेवा तथा सुविधा गाउँमै उपलब्ध गराएर बसाइँसराइ रोक्ने वातावरण निर्माणमा प्रदेश सरकार केन्द्रित रहेको उनले बताए ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री थापाले सहर केन्द्रित विकासभन्दा ग्रामीण क्षेत्रका नागरिकको जीवनस्तर सुधारमा जोड दिनुपर्ने बताए । गाउँमै मानिसलाई टिकाइराख्न गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा, सडक तथा अन्य पूर्वाधार आवश्यक रहेको उनको भनाइ थियो ।

स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने सरकार भएकाले पालिकाले तय गरेका विकास योजना र दृष्टिकोणलाई प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने उनले बताए । स्थानीय आवश्यकताका आधारमा योजना निर्माण र कार्यान्वयन गर्न सके मात्रै प्रभावकारी विकास सम्भव हुने उनको धारणा थियो ।

त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकाका ठूला पूर्वाधार योजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए । साना योजनालाई समेत आवश्यक स्रोत सुनिश्चित गरी कार्यान्वयन गरिने उनको भनाइ थियो ।

बागमती प्रदेशका सबै पालिका तथा वडाको समानुपातिक विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सडक तथा पूर्वाधारको पहुँच नपुगेका र विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

त्यस्तै, स्थानीय तहमा कानुनी प्रक्रिया पूरा नगरी व्यवहारिक अभ्यासका आधारमा भइरहेका कामलाई व्यवस्थित गर्दै कानुनी दायराभित्र ल्याउनुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताउँदै उनले त्रिपुरासुन्दरी नगर अस्पतालमा चिकित्सक पठाउनुका साथै बजेट व्यवस्थापन गरिएको जानकारी दिए । गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि समेत बजेट विनियोजन गरिएको उनले बताए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा, सडक तथा अन्य पूर्वाधार विस्तार गरी नागरिकलाई आफ्नै गाउँमा बस्न सक्ने वातावरण बनाउनु प्रदेश सरकारको लक्ष्य रहेको मुख्यमन्त्री थापाले स्पष्ट पारे ।