हरिबोधनी एकादशीमा त्रिखण्डी क्षेत्रमा भीडभाड हुने, सवारीलाई कान्तिलोकपथबाट आवतजावत गर्न आग्रह
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ त्रिखण्डीस्थित प्रसिद्ध त्रिखण्डेश्वर महादेव मन्दिर परिसरमा लाग्ने हरिबोधनी एकादशी मेलालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधनलाई कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते शुक्रबार हरिबोधनी एकादशीका दिन मन्दिर परिसरमा मेला लाग्ने र ठूलो संख्यामा श्रद्धालु भक्तजनको भीडभाड हुने भएकाले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ जाने यातायातका साधनलाई उक्त दिन कान्तिलोकपथ प्रयोग गर्न अनुरोध गरेको हो ।
मन्दिर क्षेत्रमा हुने भक्तजनको चाप र साँघुरो तथा भिरालो बाटोको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सवारी आवागमन सहज, सुरक्षित र व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गते आवतजावत गर्ने सबै सवारी साधनलाई वैकल्पिक मार्गका रूपमा कान्तिलोकपथ प्रयोग गर्न आग्रह गरेको छ ।

पालिका संचारकर्मी 






