हेटौँडा जेसिजको सप्ताहव्यापी कार्यक्रम : बुद्धचोकमा हेटौँडा जेसिजको रक्तदान, २० युनिट रगत संकलन

पालिका संचारकर्मी
३ मंसिर २०८३, बुधबार १३:३६

हेटौँडा । हेटौँडा जेसिजले सञ्चालन गरिरहेको ‘जेसिज सप्ताह–२०२६’ अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन्।

बुधबार हेटौँडा–१० स्थित बुद्धचोकमा जीवन छत्कुलीको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको थियो। जेसीआई हेटौँडा वर्ष २०२६ का अध्यक्ष सन्तोष पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष सविन न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी थिए।

जेसिज सप्ताहकै क्रममा बुधबार अपराह्न ४ः३० बजे सचिवालयमा अन्तर हेटौँडा जेसिज वक्तृत्वकला प्रतियोगिता आयोजना हुँदैछ। जेसी प्रतीक कोइरालाको संयोजकत्वमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

सप्ताहव्यापी कार्यक्रमको मूल संयोजक सञ्जय कुमार न्यौपाने र सह–मूल संयोजक विनोद वाग्ले रहेका छन्।

रक्तदानलगायत सामाजिक, शैक्षिक तथा रचनात्मक गतिविधिमार्फत जेसिजले सप्ताहलाई विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ।