पर्यटक भित्र्याउने लक्ष्यसहित बनेको वनकरिया होमस्टे सुनसान, संरक्षणको पर्खाइमा
मकवानपुर । वनकरिया समुदायको जीवनशैली, संस्कृति र पहिचानलाई पर्यटनसँग जोड्दै स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले निर्माण गरिएको वनकरिया होमस्टे अहिले प्रयोगविहीन अवस्थामा पुगेको छ। पर्यटक आकर्षित गर्ने लक्ष्यसहित स्थापना गरिएको होमस्टे सञ्चालन र संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित वनकरिया बस्तीमा निर्माण गरिएको उक्त होमस्टे पर्यटकीय सम्भावना बोकेको संरचना भए पनि अहिले त्यहाँ पाहुनाको चहलपहल छैन। प्रचारप्रसारको कमी, प्रभावकारी व्यवस्थापन नहुनु र नियमित पाहुना नआउनुजस्ता कारणले होमस्टे प्रयोगविहीन बनेको हो।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बास बसेको घरलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने अवधारणासहित होमस्टे निर्माण गरिएको थियो। वनकरिया समुदायको मौलिक संस्कृति, रहनसहन र जीवनशैलीलाई पर्यटकसमक्ष चिनाउने तथा स्थानीयस्तरमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने यसको मुख्य उद्देश्य थियो।
२०७७ सालमा निर्माण सम्पन्न भएको दुई कोठे होमस्टेको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए। उद्घाटनका बेला यसलाई वनकरिया बस्तीमा पर्यटन प्रवर्द्धन गर्ने र समुदायको आर्थिक अवस्था सुधार गर्ने सम्भावनायुक्त योजनाका रूपमा हेरिएको थियो।
तर, निर्माण र उद्घाटनपछि होमस्टेलाई नियमित रूपमा सञ्चालन गर्ने, पर्यटकसम्म सूचना पुर्याउने र आवश्यक व्यवस्थापन मिलाउने काम प्रभावकारी हुन नसक्दा यसको उद्देश्य अधुरै देखिएको छ।

पालिका संचारकर्मी 






