काठमाडौं जाँदै गरेको एसयूभीबाट ६ किलो चरेश बरामद, दुई जना पक्राउ

पालिका संचारकर्मी
१ मंसिर २०८३, सोमबार १३:०६

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट ६ किलो ४० ग्राम चरेशजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध ओसारपसारमा प्रयोग भएको एउटा एसयूभी गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले आइतबार राति करिब १ः४५ बजे चित्लाङस्थित प्रहरी चेकपोइन्टमा सवारी जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।

काठमाडौं जाँदै गरेको बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको सेतो ओमोडा जेइकु ६ टी एसयूभी जाँच गर्दा पछाडिको डिक्कीमा रहेको लगेजभित्र लुकाइएको पाँच पोका पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लत्ताकपडाभित्र प्लास्टिकले बेरेर राखिएको उक्त पदार्थको तौल प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम रहेको थियो।

प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ का ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ का २१ वर्षीया दिव्याश्री काफ्लेलाई पक्राउ गरेको छ।

बरामद पदार्थ, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।