भीमफेदीमा नयाँ राजनीतिक सक्रियता, उज्यालो नेपालमार्फत संगठन विस्तार गर्दै अस्लामी

पालिका संचारकर्मी
१ मंसिर २०८३, सोमबार ११:२८

मकवानपुर । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मकवानपुरको भीमफेदी गाउँपालिकामा राजनीतिक गतिविधि बढ्न थालेको छ । यसैक्रममा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले गाउँपालिकाका विभिन्न वडा तथा टोलमा संगठन विस्तार र जनसंवाद अभियानलाई तीव्रता दिएको छ ।

पार्टीका गाउँपालिका अध्यक्ष आशिष अस्लामी ‘उज्यालो संवाद’ कार्यक्रममार्फत स्थानीय नागरिकसँग भेटघाट र छलफलमा सक्रिय छन् । सुशासन, भ्रष्टाचार नियन्त्रण, स्थानीय विकास र नागरिकका समस्यालाई प्राथमिकतामा राख्दै उनले टोल–टोलमा पुगेर सुझाव संकलन गरिरहेका छन् ।

भीमफेदी–६ मा जन्मिएका अस्लामीले महेन्द्र माध्यमिक विद्यालयबाट एसएलसी र हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । कक्षा ९ देखि नेकपा एमालेनिकट विद्यार्थी संगठनमा आबद्ध भएर राजनीति सुरु गरेका उनी संगठनको केन्द्रीय कमिटी सदस्यसम्म पुगेका थिए । २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेको चुनावी अभियानमा सक्रिय रहेका उनले दुईवटा संघीय निर्वाचनमा महेश बर्तौलाको निर्वाचन क्षेत्रीय फोकल पर्सनका रूपमा समेत काम गरेका थिए । बर्तौला एमालेको मुख्य सचेतक हुँदा अस्लामीले स्वकीय सचिवको जिम्मेवारी पनि सम्हालेका थिए ।

पार्टीको विचार र व्यवहारबीच मेल नभएको भन्दै उनले गत जेठ १४ गते एमालेबाट राजीनामा दिएका थिए । त्यसपछि उज्यालो नेपाल पार्टीमा आबद्ध भएका उनी अहिले संगठन विस्तारमा केन्द्रित छन् ।

अस्लामीले भीमफेदी क्षेत्रका सडक पूर्वाधार, सुशासन र सम्पदा संरक्षणका विषयमा पनि आवाज उठाउँदै आएका छन् । भैंसे–भीमफेदी–कुलेखानी सडक दुई लेनमा विस्तार, जुर्खेत सडकखण्डको जोखिम न्यूनीकरण, पहिरो नियन्त्रण र व्यवस्थित पार्किङ निर्माण उनका प्राथमिकताका विषय हुन् । भीमफेदी–कुलेखानी सुरुङमार्गका लागि सेयर रकम संकलन गरेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै सेयरधनीको रकम फिर्ता गर्नुपर्ने मागसमेत उनले उठाउँदै आएका छन् ।

२०८३ असोज १८ गते भीमफेदी–१ टौबासमा सम्पन्न पार्टीको पहिलो पालिका बैठकले अस्लामीको अध्यक्षतामा १९ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको थियो । त्यसपछि असोज २६ गते भीमफेदी–३ चिलाउनेमा ‘उज्यालो संवाद’ कार्यक्रम गर्दै शर्मिला लिम्बुको अध्यक्षतामा नौ सदस्यीय टोल कमिटी गठन गरिएको थियो ।

पार्टीका अनुसार पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता उज्यालो नेपालमा आबद्ध भइरहेका छन् । तत्कालीन नेकपा (एकीकृत समाजवादी) का भीमफेदी गाउँपालिका उपाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका नेता लोकबहादुर घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता चन्द्र तितुङलगायत अन्य दलका कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् । अस्लामीले भीमफेदी–१ खर्क गाउँका चेपाङ समुदायसहित सीमान्तकृत समुदायसँग पनि भेटघाट र छलफल गर्दै आएका छन् ।

आगामी निर्वाचनमा आफू कुन पदमा उम्मेदवार बन्ने भन्नेबारे अस्लामीले औपचारिक घोषणा गरेका छैनन् । उनले पदभन्दा स्थानीय समस्या पहिचान र संगठन निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । “मेरो मुख्य उद्देश्य ‘उज्यालो संवाद’मार्फत भीमफेदीका हरेक टोल र समुदायका वास्तविक समस्या बुझ्नु तथा पार्टीको संगठनलाई टोल–टोलसम्म सुदृढ बनाउनु हो,” उनले भने, “कुलमान घिसिङको विचार ‘हरित क्रान्ति’लाई आम नागरिकमाझ पुर्‍याउने अभियानमा छु ।”

विद्यार्थी राजनीतिदेखि संसदीय सचिवालयसम्मको अनुभव बोकेका अस्लामी अहिले भीमफेदीमा उज्यालो नेपालको संगठन विस्तारमा सक्रिय छन् । आगामी निर्वाचनमा उनको राजनीतिक सक्रियता र पार्टीको अभियानले स्थानीय राजनीतिक समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।