भीमफेदी–२ पोखरीमा उज्यालो नेपालको टोल कमिटी गठन, टसी लामाले पाए नेतृत्व
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा उज्यालो नेपाल पार्टीले वडा तथा टोलस्तरमा संगठन निर्माणको अभियानलाई निरन्तरता दिएको छ। यसैक्रममा आइतबार भीमफेदी गाउँपालिका–२ को पोखरीमा स्थानीयवासीसँग अन्तरक्रियासहित ‘उज्यालो संवाद’ कार्यक्रम आयोजना गरिएको छ।
स्थानीयको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले टसी लामाको अध्यक्षतामा सात सदस्यीय पोखरी टोल कमिटी गठन गरेको छ। भेलाले सुनिता घिसिङलाई सचिवको जिम्मेवारी दिएको पार्टीले जनाएको छ।
कार्यक्रममा पार्टीका भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष आशिष असलामीले संगठनको उद्देश्य, राजनीतिक एजेन्डा र स्थानीय विकासका सम्भावनाबारे धारणा राखेका थिए। उनले भीमफेदीको समृद्धिका लागि स्थानीयस्तरमा उपलब्ध प्राकृतिक स्रोत तथा साधनको पहिचान र उपयोग आवश्यक रहेको उल्लेख गरे।
अध्यक्ष असलामीले जल, जमिन, जंगल, जडीबुटी र खनिजजस्ता स्थानीय सम्पदालाई उत्पादन तथा आर्थिक गतिविधिसँग जोड्नुपर्नेमा जोड दिँदै कुलमान घिसिङले अघि सारेको ‘हरित क्रान्ति’को अवधारणाबारे चर्चा गरेका थिए। प्राकृतिक स्रोतको योजनाबद्ध परिचालनबाट स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको भनाइ थियो।
कार्यक्रममा गाउँपालिका कमिटीका सल्लाहकार चन्द्र तितुङ, वडा नम्बर २ का संयोजक भीमलाल थोकर, गाउँपालिका कमिटी सचिवालय सदस्य राजीव परियार र वडा नम्बर ४ का संयोजक राजीव तामाङलगायत पार्टीका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति थियो।
पछिल्लो समय भीमफेदीका विभिन्न वडामा संवाद तथा संगठन विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएको उज्यालो नेपाल पार्टीले स्थानीय नागरिकका आवश्यकता, विकासका सम्भावना र सार्वजनिक सरोकारका विषयलाई आफ्नो अभियानसँग जोडेको जनाएको छ।
पोखरीमा नयाँ टोल कमिटी गठन भएसँगै पार्टीले वडा तथा बस्तीस्तरमा संगठनात्मक गतिविधिलाई थप निरन्तरता दिने जनाएको छ।

पालिका संचारकर्मी 






