हेटौंडा–काठमाडौं वैकल्पिक मार्गमा सुरक्षा सतर्कता बढाइयो, सवारी समयसीमा लागू
हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गमा अब सार्वजनिक सवारीसाधन निश्चित समयभित्र मात्रै सञ्चालन गर्न पाइने भएको छ। रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनको समयसीमा निर्धारण गरेको हो।
सोमबार हेटौंडामा बसेको सुरक्षा समितिको बैठकले हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल तथा सिस्नेरी सडक हुँदै आवतजावत गर्ने सार्वजनिक सवारीसाधनका लागि नयाँ समयतालिका लागू गरेको हो।
निर्णयअनुसार हेटौंडाबाट बिहान ५ः३० बजेपछि मात्रै सवारीसाधन छुट्नेछन्। त्यस्तै, काठमाडौं जाने सवारीसाधन साँझ ६ बजेभित्र भैंसे प्रहरी चेकपोस्ट पार गरिसक्नुपर्नेछ। निर्धारित समयपछि पुग्ने सवारीसाधनलाई भैंसेमै रोकिने व्यवस्था गरिएको छ। बिहान ५ बजेअघि भने उक्त मार्गबाट काठमाडौं जाने सवारीसाधनलाई अगाडि बढ्न दिइने छैन।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार भीमफेदीदेखि देउरालीसम्मको सडकमा रातिको समयमा दुर्घटनाको जोखिम उच्च रहेकाले यस्तो निर्णय गरिएको हो।
विशेषगरी भैंसेदेखि देउरालीसम्मको सडक साँघुरो, घुमाउरो, भिरालो तथा अँध्यारो हुने भएकाले रातिको यात्रा जोखिमपूर्ण बन्दै आएको छ।
यसअघि बिहीबार भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो। काठमाडौंवाट रातिको समयमा हेटौंडातर्फ आउँदै गरेको उक्त माइक्रोबस दुर्घटनापछि काठमाडौं जिल्ला प्रशासनले पनि फर्पिङ चेकपोस्टबाट बेलुका ८ बजेपछि सार्वजनिक सवारीसाधनलाई हेटौंडातर्फ जान रोक लगाएको थियो।
यसैबीच, सुरक्षा समितिले उक्त मार्गमा पर्ने प्रहरी चेकपोस्टहरूमा यात्रुवाहक सवारीसाधनको प्रभावकारी जाँच गर्नसमेत निर्देशन दिएको छ।
सडक सुरक्षालाई प्राथमिकता दिँदै लागू गरिएको नयाँ व्यवस्थाले रातिको जोखिमपूर्ण यात्रा र सम्भावित दुर्घटना कम गर्ने अपेक्षा गरिएको छ।

पालिका संचारकर्मी 






