डलर बलियो बन्दा सुनको मूल्यमा गिरावट, एक वर्षयताकै न्यून विन्दु नजिक

पालिका संचारकर्मी
२ मंसिर २०८३, मंगलवार ११:२४

अमेरिकी डलरको मूल्यमा आएको वृद्धि र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी डिसेम्बरमा ब्याजदर बढाउन सक्ने अनुमानले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। सुनको भाउ एक वर्षयताकै न्यून स्तरनजिक पुगेपछि विश्व बजारमा यसको कारोबार प्रभावित भएको छ।

मंगलबार (नोभेम्बर १७) अन्तर्राष्ट्रिय बजारमा एक औंस अर्थात् करिब ३१.१ ग्राम सुनको मूल्य ३ हजार ८६९.१३ अमेरिकी डलरमा झरेको छ। अघिल्लो दिन सुनको मूल्य सन् २०२५ अक्टोबरयताकै न्यून विन्दुमा पुगेको थियो। यद्यपि, डिसेम्बरमा आपूर्ति हुने अमेरिकी सुनको वायदा मूल्य भने ०.५ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८७२.१० डलर कायम भएको छ।

अमेरिकी डलर सूचकांक पछिल्लो १९ महिनाकै उच्च स्तरमा पुगेपछि सुनको मूल्यमा थप दबाब परेको हो। डलर बलियो हुँदा अन्य देशका मुद्रा प्रयोग गर्ने लगानीकर्ताका लागि डलरमा मूल्य तोकिएको सुन खरिद गर्न महँगो पर्छ। यसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग कमजोर बनाउन भूमिका खेल्ने गर्छ।

यसैबीच, बजार विश्लेषकहरूले आगामी डिसेम्बरमा फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने सम्भावना ९५.५ प्रतिशत रहेको अनुमान गरेका छन्। ब्याजदर ०.५० प्रतिशत विन्दुले बढ्न सक्ने सम्भावना भने ४.५ प्रतिशत आकलन गरिएको छ।

ब्याजदर बढ्दा बैंक तथा अन्य वित्तीय उपकरणबाट प्राप्त हुने प्रतिफल आकर्षक बन्न सक्छ। तर सुनमा लगानी गर्दा ब्याज प्राप्त हुँदैन। त्यसैले ब्याजदर बढ्ने अपेक्षाले लगानीकर्तालाई सुनभन्दा ब्याज आम्दानी हुने विकल्पतर्फ आकर्षित गर्न सक्ने विश्लेषण गरिएको छ।

लगानीकर्ताको ध्यान अहिले फेडरल रिजर्भको अक्टोबर २७ र २८ मा बसेको बैठकको विवरणतर्फ केन्द्रित भएको छ। बुधबार सार्वजनिक हुने उक्त विवरणले अमेरिकी केन्द्रीय बैंकको आगामी मौद्रिक नीतिको दिशा र ब्याजदरसम्बन्धी योजनाबारे थप संकेत दिने अपेक्षा गरिएको छ।

आर्थिक विश्लेषकहरूका अनुसार समग्र अर्थतन्त्रमा देखिएको दबाब र अमेरिकी मौद्रिक नीतिबारेको अनिश्चितताले सुन बजारमा थप उतारचढाव ल्याउन सक्छ। आगामी दिनमा डलरको अवस्था र फेडरल रिजर्भको निर्णयले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कुन दिशामा अघि बढ्छ भन्ने निर्धारण गर्ने देखिन्छ।एजेन्सी