राष्ट्रपति पौडेलले गरे महादेवटारको ३.४४५ किमि लामो सुरुङको ब्रेक थ्रु
हेटौँडा । तराई–मधेशलाई काठमाडौंसँग जोड्ने राष्ट्रिय गौरवको आयोजना तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारस्थित सबैभन्दा लामो सुरुङको ब्रेक थ्रु गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लामो दायाँ सुरुङको ब्रेक थ्रु गरेका हुन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका थिए। तीमध्ये दायाँ सुरुङ बुधबार छिचोलिएको हो। यसअघि ३.४८६ किलोमिटर लामो बायाँ सुरुङ गत भदौमै ब्रेक थ्रु भइसकेको थियो। यससँगै महादेवटारका दुवै सुरुङ छिचोलिएका छन्।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान साढे ९ बजे महादेवटार पुगेका थिए। उनको उपस्थितिमा सुरुङको ब्रेक थ्रु गरिएको हो।
करिब ७१ किलोमिटर लम्बाइको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ। आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरेर काम भइरहेको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ।
द्रुतमार्गको निर्माण २०८६ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाअन्तर्गत सातवटा सुरुङ निर्माणको काम अघि बढाइएको छ।

पालिका संचारकर्मी 






