हेटौँडा जेसिजको सप्ताहव्यापी कार्यक्रम बुधबारदेखि, सातवटा गतिविधि सञ्चालन हुने
हेटौँडा । युवाको नेतृत्व क्षमता विकास र सामाजिक सेवामा सक्रियता बढाउने उद्देश्यले हेटौँडा जेसिजले सातवटा कार्यक्रमसहित ‘जेसिज सप्ताह–२०२६’ सञ्चालन गर्ने भएको छ। बुधबार आजदेखि मंसिर ५ गतेसम्म विभिन्न सामाजिक, शैक्षिक तथा मनोरञ्जनात्मक गतिविधि आयोजना गर्न लागिएको हो।
हेटौँडा जेसिजले पत्रकार सम्मेलन गरी सप्ताहव्यापी कार्यक्रमको तालिका सार्वजनिक गरेको छ। अध्यक्ष सन्तोष पराजुली र कार्यक्रम संयोजक संजय कुमार न्यौपानेले कार्यक्रमबारे जानकारी दिएका हुन्।
सार्वजनिक तालिकाअनुसार मंसिर २ गते बिहान ८ बजे बुद्धचोकमा रक्तदान कार्यक्रम हुनेछ। सोही दिन दिउँसो ४ः३० बजे जेसिज सचिवालयमा अन्तर हेटौँडा जेसिज वक्तृत्वकला प्रतियोगिता आयोजना गरिनेछ।
मंसिर ३ गते दिउँसो २ बजे नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयमा साइबर सुरक्षा सचेतना कार्यक्रम सञ्चालन हुनेछ। त्यसैगरी, सोही दिन साँझ ४ः३० बजे मामाघर नेपाललाई आवश्यक सामग्री हस्तान्तरण गरिने कार्यक्रम छ।
मंसिर ४ गते बिहान १० बजे जेसिज सचिवालयमा अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना हुनेछ। सप्ताहको अन्तिम दिन मंसिर ५ गते बिहान ७ः३० बजे माया स्पोर्ट्स सेन्टरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुनेछ।
त्यसै दिन दिउँसो ३ बजे जेसिज सचिवालयमा समापन तथा पुरस्कार वितरण समारोह आयोजना गरी सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिनेछ।
कार्यक्रमको प्रमुख संयोजक जेसी संजय कुमार न्यौपाने रहेका छन् भने सहसंयोजक जेसी बिनोद वाग्ले छन्। जेसिजका महासचिव जेसी किरण आले र अध्यक्ष सिनियर सन्तोष पराजुली रहेका छन्।
हेटौँडा जेसिजले हरेक वर्ष युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्षको सप्ताहमा पनि सामाजिक सेवा, विद्यार्थीको प्रतिभा पहिचान र युवाको सक्रियतालाई प्राथमिकता दिइएको जेसिजले जनाएको छ।

पालिका संचारकर्मी 






