भैँसेमा १० यात्रु सवार सुमो दुर्घटनाग्रस्त, तीनको मृत्यु
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बुधबार बिहान करिब ८ः३० बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो ।
दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले बिहान ९ः२० बजे तीन जनालाई मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

पालिका संचारकर्मी 






