बागमतीका यातायात तथा पर्यटन कार्यालयमा कर्मचारी फेरबदल, २३७ जनाको सरुवा

पालिका संचारकर्मी
५ मंसिर २०८३, शुक्रबार ११:०८

हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गतको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले एकैपटक २३७ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले मंसिर ३ गतेको निर्णयअनुसार मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारी सरुवामा परेका छन् । सबैभन्दा धेरै नायब सुब्बा तथा सहायक अधिकृत समूहका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको छ ।

पदगत विवरणअनुसार शाखा अधिकृत तथा वरिष्ठ शाखा अधिकृत ४४ जना, नायब सुब्बा तथा सहायक अधिकृत ११८ जना, मेकानिकल सुपरभाइजर ३५ जना, कार्यालय सहयोगी २० जना र कम्प्युटरसम्बन्धी विभिन्न पदका २० जना गरी कुल २३७ जना कर्मचारीको सरुवा गरिएको हो ।

मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले तयार गरेको सरुवा मापदण्डका आधारमा कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको जानकारी दिए । स्थायी कर्मचारीतर्फ कार्यालय सहयोगीदेखि आठौँ तहसम्मका कर्मचारीको सरुवा गरिएको उनले बताए ।

सरुवा भएका कर्मचारीलाई मन्त्रालयसहित यातायात व्यवस्था कार्यालयका विभिन्न शाखा तथा कार्यालयमा खटाइएको छ । यातायात व्यवस्था कार्यालय एकान्तकुना, गुर्जुधारा, चाबहिल, कलंकी, भक्तपुर, भरतपुर, हेटौँडा, बनेपा, बालाजु र सल्लाघारीलगायतका कार्यालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।

त्यस्तै, प्रदेश पर्यटन कार्यालय काठमाडौं तथा विभिन्न जिल्लामा रहेका उद्योग, वाणिज्य, पर्यटन र यातायात कार्यालयमा समेत कर्मचारी पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश सरकारले एउटै कार्यालयमा दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सरुवा गर्नुपर्ने व्यवस्था गरेपछि मन्त्रालय तथा मातहतका निकायमा सरुवा प्रक्रिया अघि बढेको हो । सोही व्यवस्थाअनुसार कर्मचारीलाई लामो समय एउटै कार्यालयमा नराखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सरुवा तथा पदस्थापन गरिएको जनाइएको छ ।