स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो आयोग, राष्ट्रिय दलहरूसँग आज छलफल गर्दै
हेटौँडा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ । आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेसँगै आयोगले निर्वाचनको मिति र आवश्यक तयारीबारे राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गर्न लागेको हो ।
आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको जानकारी दिए ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छलफलमा बोलाइएको हो ।
छलफलमा स्थानीय तह निर्वाचनको मिति, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका विषयमा दलहरूको सुझाव लिइने आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएकाले आयोगले नयाँ निर्वाचनका लागि आवश्यक गृहकार्य अघि बढाएको हो । रासस

पालिका संचारकर्मी 






