पिप्ले चोकनजिकै सञ्चालित द डोर होटलमा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले चोकनजिकै सञ्चालित द डोर होटलमा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मंसिर ८ गते राति करिब ११ः३० बजे होटलमा अचानक आगो लागेको हो । आगलागीको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट होटलको भान्साकोठा (किचन) तथा हलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । रातभर प्रयास गर्दा मंसिर ९ गते राति १२ः२० बजे मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
आगो निभाउने क्रममा होटल सञ्चालक करिब २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी करिब ३५ वर्षीय नवीन नेपाल सामान्य घाइते भएका छन् । दुवै जनाको हात पोलिएको र स्थानीय मेडिकलमा उपचारपछि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आगलागीको वास्तविक कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुमानअनुसार विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।
होटल सञ्चालकका अनुसार आगलागीबाट कोठासहित होटलमा रहेका सामग्री जलेर नष्ट हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पालिका संचारकर्मी 






