महिला हिंसाविरुद्ध विश्वभर १६ दिने अभियान सुरु, प्रत्येक १० मिनेटमा एक महिलाको हत्या
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित आज नोभेम्बर २५ मा विश्वभर महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
महिला अधिकारको संरक्षण, लैङ्गिक समानताको प्रवर्द्धन तथा हिंसामुक्त समाज निर्माणको सन्देश फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घले महिला हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा लिँदै यसको अन्त्यका लागि प्रभावकारी कानुनी व्यवस्था, न्यायमा सहज पहुँच र जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिँदै आएको छ ।
संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) ले सार्वजनिक गरेको प्रतिवेदनले महिला हिंसाको भयावह अवस्था उजागर गरेको छ । प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो ।
उक्त तथ्याङ्कअनुसार दैनिक औसत १३७ महिला तथा बालिकाले ज्यान गुमाउने गरेका छन् । यसको अर्थ प्रत्येक १० मिनेटमा एक महिला वा बालिका आफ्नै नजिकका व्यक्तिबाट मारिने गरेका छन् । प्रतिवेदनले यस्ता घटनाको पछाडि लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्ध मुख्य कारकका रूपमा रहेको औँल्याएको छ ।
महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले लामो समयदेखि कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउनुको ऐतिहासिक कारण पनि छ । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको थियो । उक्त घटनाको स्मरण गर्दै महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि यस दिनलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् ।
यसै अवसरमा आजदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वव्यापी रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानसमेत सुरु भएको छ । अभियानमार्फत महिला तथा बालिकामाथि हुने घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, शोषण, विभेद र अन्य सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज तथा समुदायको संयुक्त प्रयास आवश्यक रहेको सन्देश प्रवाह गरिँदैछ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथि हुने हिंसालाई विश्वव्यापी लज्जाको विषय भन्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका कार्यक्रमलाई तीव्रता दिन आह्वान गरेका छन् ।
उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा सुरक्षित आश्रय उपलब्ध गराउन र हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन् ।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय दिलाउनुका साथै दोषीलाई कानुनी दायरामा ल्याएर जवाफदेही बनाउन सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताएकी छन् ।
महिला हिंसा अन्त्यका लागि कानुन निर्माण मात्र पर्याप्त नहुने भएकाले त्यसको प्रभावकारी कार्यान्वयन, पीडितमैत्री सेवा, सामाजिक सोचमा परिवर्तन र हिंसाविरुद्ध सामूहिक आवाज आवश्यक रहेको सन्देश यस दिवसले दिएको छ ।

पालिका संचारकर्मी 






