काठमाडौंबाट वीरगन्ज जाँदै गरेको स्कारपियो भीमफेदीमा दुर्घटनाग्रस्त, ६ घाइते

पालिका संचारकर्मी
२ भाद्र २०८३, मंगलवार १०:४३

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा उच्च अदालत वीरगन्जको सरकारी स्कारपियो दुर्घटना हुँदा मुख्य न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको हो।

प्रहरीका अनुसार दुर्घटनाका बेला सवारीमा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडु, चालक छुनिलाल चौधरी तथा रजिस्ट्रार बडुका परिवारका सदस्यसहित ६ जना सवार थिए।

दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन्। घाइतेमध्ये रजिस्ट्रार बडुकी श्रीमती लक्ष्मी बडुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाँकी पाँच जनाको अवस्था मध्यम छ।

घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी प्रारम्भिक उपचारका लागि भीमफेदी अस्पताल पठाइएको थियो। उनीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

मुख्य न्यायाधीश डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। त्यस्तै, रजिस्ट्रार बडुको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। बडुका छोरा रितेन्द्र बडु, दिदी रिता बुड तथा चालक छुनिलाल चौधरी पनि घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहेको छ। दुर्घटनाका कारण सडकमा यातायात भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।