भीमफेदीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

पालिका संचारकर्मी
२७ श्रावण २०८३, बुधबार १२:५५

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुपारिटार ब्यारेकस्थित त्रिभुवन राजपथमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार हेटौँडाबाट भैंसेतर्फ जाँदै गरेको बा ६० प ४९५४ नम्बरको मोटरसाइकलले ओभरटेक गरी अगाडि बढ्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ९३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा बा ६० प ४९५४ नम्बरको मोटरसाइकल चालक भारतको बिहार राज्य, पूर्वी चम्पारण घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब ३७ वर्षीय सकिम आलम घाइते भएका छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। प्रहरीले उनको अवस्था मध्यम रहेको जनाएको छ।

त्यस्तै, अर्को मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–१ बस्ने करिब ४९ वर्षीय केसरी साह पनि घाइते भएका छन्। उनको दाहिने खुट्टा र ढाडमा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुवै मोटरसाइकलमा क्षति पुगेको छ। दुवै मोटरसाइकल तथा सम्बन्धित कागजपत्र प्रहरी चौकी चौकीटोलको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।