रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदका लागि साउन २९ देखि ३१ गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। संसद्को गरिमा र सांसदको भूमिकालाई थप प्रभावकारी बनाउन प्रशिक्षण दिन लागिएको पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन्।
धितालका अनुसार ललितपुरको गोदावरीस्थित फरेस्टमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। यसअघि दुई पटक प्रशिक्षण दिइसके पनि आवश्यकताअनुसार थप विषयमा सिकाइ आवश्यक देखिएपछि तेस्रोपटक कार्यक्रम आयोजना गर्न लागिएको उनले बताइन्।
सांसदहरूको सुझाव र आवश्यकतालाई आधार बनाएर प्रशिक्षणको कार्यतालिका तय गरिने धितालको भनाइ छ। पार्टीको नीति, संसद्मा प्रभावकारी भूमिका तथा सांसदहरूको क्षमता अभिवृद्धिलाई प्रशिक्षणको मुख्य विषय बनाइने उनले बताइन्।
‘सिक्ने प्रक्रिया जीवनभर रहिरहन सक्छ। यसपटक सांसदहरूकै सुझाव र आवश्यकता अनुसार प्रशिक्षण कार्यक्रम राखिएको हो। हामीले पार्टीको नीति र संसद्मा प्रभावकारी भूमिका खेल्नेगरी प्रशिक्षण दिन्छौँ,’ धितालले भनिन्।
रास्वपाले यसअघि २०८२ साल चैत ३ र ४ गते ललितपुरको होटल टुलिप तथा वैशाख २६ र २७ गते ललितपुरको जावलाखेलमा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।

पालिका संचारकर्मी 






