मकवानपुरको औद्योगिक निर्यात घट्यो, ६ उद्योगले ६५ करोड ८९ लाखका वस्तु विदेश पठाए

पालिका संचारकर्मी
२६ श्रावण २०८३, मंगलवार ११:१८

हेटौँडा । मकवानपुरबाट भारतसहित तेस्रो मुलुकमा हुने औद्योगिक वस्तुको निर्यात गत आर्थिक वर्षमा सामान्य रूपमा घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका छ वटा उद्योगले ६५ करोड ८९ लाख रुपैयाँ बराबरका वस्तु विदेश निर्यात गरेका छन्।

मकवानपुर उद्योग वाणिज्य सङ्घ र उद्योग परिसङ्घ बागमती प्रदेशको तथ्याङ्कअनुसार आव २०८१/८२ मा आठ वटा उद्योगले ६६ करोड ६४ लाख रुपैयाँ बराबरका वस्तु निर्यात गरेका थिए। दुई उद्योगको निर्यात शून्य भएपछि गत वर्ष समग्र निर्यातमा सामान्य गिरावट आएको हो।

भारत तथा तेस्रो मुलुकमा निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने निकायको तथ्याङ्कअनुसार प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालि र हिमालय कत्था उद्योग प्रमुख निर्यातकर्ता रहेका छन्।

स्थानीय जडीबुटी प्रयोग गरी क्यान्सरसम्बन्धी औषधि उत्पादन गर्दै आएको इभान्स लाइफ साइन्सेस प्रालिको निर्यात भने उल्लेख्य बढेको छ। उद्योगले आव २०८१/८२ मा ३ करोड ५९ लाख रुपैयाँ बराबरको औषधि निर्यात गरेकामा गत आवमा ६ करोड ३५ लाख रुपैयाँ बराबरको उत्पादन विदेश पठाएको छ।

यता ट्रान्सफर्मर उत्पादन गरी भारतलगायत मुलुकमा निर्यात गर्दै आएको नेपाल इकरात इन्जिनियरिङ प्रालिको निर्यातमा भने ठूलो गिरावट आएको छ। अघिल्लो आवमा ४ करोड ५ लाख रुपैयाँ बराबरको ट्रान्सफर्मर निर्यात गरेको उक्त उद्योगले गत वर्ष ११ लाख २३ हजार रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ।

दुई वर्षअघि निर्यात सुरु गरेको सिद्धिश्री इन्डस्ट्रिज प्रालिले गत वर्ष ७३ लाख रुपैयाँ बराबरका सामग्री निर्यात गरेको छ। सिक्स भिल्ला प्रालिले पनि २२ लाख रुपैयाँ बराबरका सामग्री विदेश निर्यात गरेको तथ्याङ्कमा उल्लेख छ।

यसैबीच, रिद्धिसिद्धि सिमेन्ट उद्योग र युनिलिभर नेपालको निर्यात गत वर्ष शून्य भएको छ। प्लास्टिकका बोरा उत्पादन गर्ने गोदावरी पोलिप्याक्स एन्ड फेब्रिक प्रालिको निर्यात पनि पछिल्ला तीन वर्षदेखि शून्य रहेको जनाइएको छ।

एक दशकअघिसम्म मकवानपुरबाट क्रसरजन्य सामग्री, जडीबुटी, अदुवा र लसुनलगायत वस्तु अर्बौं रुपैयाँ बराबर निर्यात हुने गरेको थियो। क्रसरजन्य सामग्रीको निर्यात बन्द हुनु तथा केही बहुराष्ट्रिय उद्योगले उत्पादन नेपालमै सीमित गरेपछि जिल्लाको निर्यात व्यापार खुम्चिएको उद्योग क्षेत्रका प्रतिनिधिहरू बताउँछन्।

उद्योग परिसङ्घ बागमती प्रदेशका उपाध्यक्ष स्वागतराज प्याकुरेलले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुँदा निर्यातमुखी उद्योग विस्तार हुन नसकेको बताए। वित्तीय शुल्क, बैंक ऋणको ब्याजदर, पूर्वाधार तथा ढुवानी लागत बढी हुँदा नेपाली उत्पादन महँगो पर्ने उनको भनाइ छ।

समुद्री बन्दरगाहको पहुँच नहुँदा मात्रै ढुवानी लागत करिब ३० प्रतिशतसम्म बढी पर्ने उनले बताए। निजी क्षेत्रमा लगानीको उत्साह घटेकाले निर्यातमुखी उद्योग विस्तार हुन नसकेको भन्दै उनले कच्चा पदार्थ, ढुवानी, विद्युत्, पानी र बैंक ब्याजदरमा सहुलियत दिएर सरकारले निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए।

मकवानपुरमा घरेलु उद्योगबाहेक साना–ठूला गरी करिब तीन सय उद्योग सञ्चालनमा रहेको उद्योग परिसङ्घ बागमती प्रदेशले जनाएको छ।

स्रोत : गोरखापत्र